बबई गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाका साविकका पञ्चकुले र पुरन्धारा गा.वि.स. मिलेर बनेको छ। यस गाउँपालिकाको केन्द्र हापुर हो जुन जिल्ला सदरमुकाम घोराही देखि ४६ किलोमीटर पश्चिममा पर्दछ । २५७.४८ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिका, पश्चिममा बाँके र सल्यान जिल्ला, उत्तरमा सल्यान जिल्ला र दक्षिणमा बाँके जिल्ला पर्दछन् ।
बबई गाउँपालिका दाङ जिल्लाका अन्य गाउँपालिकाहरुमध्ये विकासको लागि उच्च सम्भावना बोकेको गाउँपालिका हो। सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँबासी यस गाउँपालिकाको दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या ३०,९६८ रहेको छ जसमध्ये महिलाको जनसंख्या १६.५२२ (५३.४ प्रतिशत) र पुरुषको जनसंख्या १४,४४६ (४६.६ प्रतिशत) रहेको छ। यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार यस गाउँपालिकामा सबैभन्दा बढी क्षेत्री जाती १५,२९४ जना (४९.३९%), दोस्रोमा मगर ५,५४४ (१७.९०%) र तेस्रोमा विश्वकर्मा जाती ३,८५९ (१२.४६%) को बसोबास रहेको छ। औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि अन्य सुविधायुक्त शहर र विदेशमा जाने क्रम बढिरहेको छ। यस गाउँपालिकामा पठनपाठनको लागि शिशु कक्षा देखि उच्च शिक्षासम्म प्रदान गर्ने शिशु कक्षा ४ वटा, प्रा.वि १६ वटा, नि.मा.वि. ७ वटा र मा.वि ७ वटा गरी जम्मा ३४ वटा सामुदायिक शिक्षण संस्थाहरु रहेका छन् भने संस्थागत विद्यालयतर्फ प्रा.वि. १ र मा.वि. ६ गरी जम्मा ७ वटा रहेका छन् । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ। दशैं, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरईद, आईतबारी, बुद्धजयन्ती, क्रिसमस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।